अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण, दुबै क्वारेन्टिनमा

काठमाडौं, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान आफू र श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

वरिष्ठ सल्लाहकार होप हिक्समा कोरोना भाइरसको संक्रमण देखिएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीमा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत कोरोना परीक्षण रिपोर्टमा आफूहरुको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । यसअघि उनले शुक्रबार बिहान ट्विटरमार्फत होप हिक्सलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गर्दै आफूहरु क्‍वारेन्टिनमा बसेको जानकारी दिएका थिए ।

३१ वर्षीया होप हिक्स राष्ट्रपति ट्रम्पको सबैभन्दा नजिक रहने सीमित व्यक्तिमा पर्छिन् । उनी राष्ट्रपति ट्रम्पका साथ एयर फोर्स वन विमानमा यात्रा गर्दै आएकी छिन् ।

केही दिनयता उनी चुनावी यात्राहरुमा ट्रम्पका अन्य सल्लाहकारहरुका साथ देखिएकी थिइन् । होप हिक्सलाई मंगलबारको ‘प्रेसिडेन्सियल डिबेट’ अघि र मिनेसोटामा सम्पन्‍न चुनावी अभियानका दौरान राष्ट्रपति ट्रम्पका साथ देखिएको थियो । =बीबीसी

प्रतिक्रिया दिनुहोस्