वामदेवविरुद्धको मुद्दामा सुनुवाई हुँदै, गौतमका पक्षमा ३० बढी वकील

काठमाडौं , असोज १६ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।

गत बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको बहस नसकिएपछि आज पनि सुनुवाई निरन्तर हुने भएको हो ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए ।

न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले ‘थप संवैधानिक जिम्मेवारी नदिन’ आदेश गर्दै संवैधानिक इजलासमा थप सुनुवाई गर्न आदेश दिएको थियो ।

बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गर्नुभएको थियो भने गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए ।

गौतमको तर्फबाट बहस गर्न पूर्व महान्यायाधीवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठलगायत ३० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्