दसैंलाई लक्षित गरि काठमाडौं उपत्यकामा ५० हजार खसीबोका भित्र्याइने
काठमाडौं , असोज १६ । दसैंलाई लक्षित गरेर काठमाडौं उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा बजारमा खसीबोकाको माग उच्च हुने भएकाले उक्त परिमाणमा खसीबोका भित्र्याइन लागिएको हो ।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन लागेका हुन् ।
दसैंमा अधिकांश मानिसले मासु खाने भएकाले अन्य समयको तुलनमा खसीबोकाको खपत धेरै हुनेगर्छ । दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन् । अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने व्यापारीहरू बताउँछन् ।
यो वर्ष अघिल्लो वर्षको तुलनामा खसीबोकाको मासुमा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्न गएको व्यापारीहरूको भनाइ छ । व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ ।
दसैंलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो ।
१ हजार ६ सय संख्यामा खसीबोका र १ हजार ४ सय संख्यामा च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।च्याङ्ग्रा र खसीबोका खरिद गर्नका लागि कम्पनीले ५९ करोड ९८ लाख ४ हजार रुपैयाँ छुट्याएको छ ।
प्रतिकेजी १० रुपैयाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले घटस्थपनाको दिनदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने छ ।











प्रतिक्रिया दिनुहोस्