राजदूत सिफारिसमा ओलीको एकलौटी निर्णय, प्रचण्ड असन्तुष्ट

काठमाडौं, असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुखुसी राजनीतिक नियुक्ती गरेको भन्दै नेकपा पार्टीभित्र असन्तुष्टि देखिएको छ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्दा पार्टीलाई जानकारी नगराइएको एक सचिवालय सदस्यले बताए।

यता पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६८ औं बैठकको भावनाविपरीत एकलौटी निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।

स्थायी समिति बैठकको निर्णयअनुसार राजनीतिक नियुक्तीरसिफारिस गर्दा सचिवालयमा छलफल हुनुपर्ने हो तर सचिवालयमा यसबारे जानकारी नै नभएको उनले बताए । दुई अध्यक्षका बीचमा पनि कुराकानी भएने ती सचिवालय सदस्यले भने, उहाँले स्थायी कमिटी बैठकको निर्णयविपरीत राजनीतिक नियुक्ति आफुखुसी गर्नुभयो।

अर्का सचिवालय सदस्यले राजदूत नियुक्ति गर्दा प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहासम्म नदिएको दाबी गरे।यसैबीच नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा छलफल नभएको बताए । “राजदूत सिफारिसबारे छलफल भएको छैन । केके निर्णय भए त्यो पनि बुझ्न पाएको छैन,” उनले भने ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री खतिवडा र निवर्तमान मुख्यसचिव रेग्मीलाई राजदूत सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्