खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूत र बैरागी मुख्यसचिवमा सिफारिस
काठमाडौं, असोज १५ । सरकारले निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेको हो।
त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, साढे दुई वर्ष अर्थमन्त्री, केही दिन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अन्ततः राजदूत सिफारिस भएका हुन्।
मुख्यसचिवबाट अवकास पाएसँगै कुनै शक्तिशाली देशको राजदूत बनाउने परम्परा अनुसार रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको हो। राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहान मात्रै राजीनामा दिएका थिए।यसैबीच सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने बैरागी पहिलो व्यक्ति हुन ।
संसदीय सुनुवाई प्रक्रिया पूरा भएपछि खतिवडा र रेग्मीलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्। यसैगरि सरकारले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ ।
महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत लगायत महत्त्वपूर्ण निकायमा नियुक्ति गरेपछि नेकपामा असन्तुष्टि बढ्ने संकेत देखिएको हो ।
पछिल्लो पटक बिहीबार सरकारले महत्त्वपूर्ण दुई देशका लागि राजदूत नियुक्ति गर्दा पार्टीसँग कुनै छलफल र सल्लाह नगरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्