आजदेखि खुल्यो सुपथ मूल्य पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

काठमाडौँ , असोज १५ । सरकारले चाडपर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकालगायत देशभर आजदेखि सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ ।

सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् ।

सरकारले त्यसरी सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ७० रुपैयाँमा पाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पसलबाट प्रति परिवार ४ किलोको दरले चिनी खरिद गर्न पाइने छ ।

यस्तै नुन १८ रुपैयाँ प्रतिकिलोमा पाइनेछ । नुन पनि प्रति परिवार ४ किलै पाइने बताइएको छ । सुपथ मूल्य पसलमा घ्युको मूल्य भने प्रतिलिटर ८ सय ७० रुपैयाँ तोकिएको छ ।मन्त्रालयले चामलमा किलोको ५ रुपैयाँ, खसीबोका तथा च्यांग्रामा १०, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय पनि गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

सरकारले हरेक वर्ष चाडपर्वको समयमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्