बलात्कारका घटनामा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ: गृहमन्त्री थापा
काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन् । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका हुन् ।
घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे । थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि उनले स्पष्ट पारे ।सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ ।’’
मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६/७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए । पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानूलाई अझ कडाई गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्