ओली–प्रचण्ड भेट: आज पनि भएन सहमति, पेचिलो बन्यो मन्त्रिपरिषद् पुनर्गठन
काठमाडौं, असोज १३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ । मंगलबार लगातार पाँचौ दिनको छलफल भएपनि दुवै अध्यक्षले आफ्नो अडान नछोड्दा छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन। प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ(आफ्नो अडान नछोड्दा मन्त्रिपरिषद् पुनर्गठनका विषय पेचिलो बन्दै गएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भयो । तर, छलफलबाट कुनै ठोस निष्कर्ष निस्कन भने सकेन ।मन्त्रिपरिषद् पुनर्गठनको विषयमा दुई अध्यक्षबीच एक हप्तादेखि लगातार छलफल भइरहेको भए पनि सहमति हुन सकेको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही मन्त्री परिवर्तन गर्नुपर्ने अडान राख्दै आएका छन् भने प्रचण्डले धेरै संख्यामा मन्त्री परिवर्तन गर्नुपर्ने अडान राख्दै आएका छन् । बिहीबारदेखि मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित भएर अध्यक्षद्वय ओली(प्रचण्डले दैनिक छलफल गर्दै आएका छन्।
ओली(प्रचण्डले पुनर्गठनकै विषयलाई लिएर गत बिहीबार, शुक्रबार, आइतबार, सोमबार र मंगलबार समेत छलफल गरेका थिए।मंगलबार मध्यान्न १२ बजेदेखि करिब तीन घण्टा छलफल भएपनि कुनै निष्कर्षमा नपुगी छलफल टुंगएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले तीनवटा मन्त्रालय फुटाउने र तीनवटा थपेर राज्यमन्त्रीलाई बिदाइ गर्ने योजना अगाडि सारेका हुन् । प्रचण्डले सरकारको काममा सकारात्मक प्रभाव पार्नेगरी दुई वर्ष काम गरेकालाई परिवर्तन गर्नुपर्ने तर्क गरिरहेका छन् ।
छलफलअघि अध्यक्षद्वयले आफूनिकट नेतासँग छुट्टाछुट्टै छलफल गरेका थिए । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति बन्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्