रुसबाट २ करोड ५० लाख कोरोना भ्याक्सिन नेपाल ल्याउने सम्झौता
काठमाडौं, असोज १३ । कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने निश्चित भएको छ। रुसबाट २ करोड ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन डोज नेपाल आपूर्ति गर्ने सम्झौता भएसँगै नेपालमा खोप आउने निश्चित भएको हो ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ।
मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ।नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ।
ट्रिनिटी फर्कास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ।रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन भ्याक्सिन डोज पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।
त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विश्वभरका विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक परिणाम दिइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्