मन्त्रिमण्डल पुनर्गठनः ओली–प्रचण्ड निरन्तर छलफलमा, होला त आज सहमति ?

काठमाडौं, असोज १३ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको छ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा केही दिनदेखि निरन्तर छलफलमा रहेको प्रधानमन्त्री ओली र प्रचण्डबीच मंगलबार पनि  मध्यान्ह सवा १२ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको जानकारी दिए।

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने, कुनकुन मन्त्रीलाई हटाउने र केही मन्त्रालयमा हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको नेकपा स्रोतले जनाएको छ। यिनै विषयका कारण निरन्तर छलफल भए पनि दुई अध्यक्षबीच सहमति हुन नसकेको हो।

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्