बझाङ घटना: राज्यव्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई , दोषीलाई हदैसम्मको कारवाही गर्न माग
भकाठमाडौं , असोज १३ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बझाङकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएकी विषयमा गृहमन्त्री रामबहादुर थापासँग छलफल हुने भएको छ ।
समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे छलफलका लागि बोलाएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । एक साताअघि बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको शव अझै उठाइएको छैन ।
आजको बैठकमा समितिका सदस्यहरुले मन्त्रालयलाई कुन कुन कुरामा ध्यानाकर्षण गराउने बारे छलफल गर्ने उनले बताइन् । गृहमन्त्रीसँग बझाङ, बारा, लगायत देशका अन्य क्षेत्रमा भएका बलात्कारका घटनाबारे जानकारी लिने र कारवाही प्रक्रियाबारे समितिले छलफल गर्न लागेको हो । यस्तै गृहमन्त्रीसँग नेपाल र चीनबिचको सीमाबारे बैठकमा छलफल हुनेछ ।
विकको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्न माग
नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ”, सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट सङ्गठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो ।
विज्ञप्तिमा भनिएको छ, “देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।”











प्रतिक्रिया दिनुहोस्