जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ निष्काशन
काठमाडौं, असोज ११ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ)लागि आवेदन आह्वान गरेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कूल ३० लाख कित्ता शेयरमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारी र एक लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ।
नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ।
यसअनुसार यस कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले पाउनेछन्। कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।
कम्पनीको आईपीओमा आजदेखि आगामी १४ गतेसम्म आवेदन गर्न सकिने शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटलले बताएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन गर्न पाइन्छ।
अहिले कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आईपीओ निष्काशन पश्चात चुक्त पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन बमोजिम न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्