देउवाले गरेका निर्णय फिर्ता गर्न माग गर्दै पौडेल पक्षले विरोधपत्र दर्ता गराउँदै

काठमाडौं, असोज ११ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले गरेका निर्णय फिर्ता गराउन मागसहित रामचन्द्र पौडेल पक्षले विरोध पत्र दर्ता गराउन लागेको छ।

सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै पौडेलले पक्षले पार्टी केन्द्रीय कार्यलयमा विरोधपत्र दर्ता गर्न लागेको हो।पौडेल पक्षका २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पत्र दर्ता गर्न लागिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।

वरिष्ठ नेता पौडेलसहित देउवाइतर समूहको हिजो बसुन्धरामा बसेको भेलाले एकपक्षीय ढंगबाट गरिएका निर्णय असोज १९ भित्र सच्याउन देउवालाई अल्टिमेटम दिने निष्कर्ष निकालेको थियो। सोहीअनुसार आज पार्टी कार्यालयमा विरोधपत्र बुझाउने तयारी गरिएको नेता घिमिरेले बताए । यस विषयमा अहिले छलफल भइरहेको र साँझ ५ बजेसम्म भए पनि विरोधपत्र दर्ता गर्नेगरी तयारी भइरहेको उनले जानकारी दिए।केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराउन केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीलाई जिम्मेवारी दिइएको बताइएको छ।

पौडेल समूहले यसअघि पनि देउवालाई महाधिवेशनको मिति तोकिसकेपछि विधा र विधिविपरीत निर्णय नगर्न माग गर्दै विरोधसमेत जनाउँदै आएको थियो। यसैबीच, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले हस्ताक्षर गर्न अस्वीकार गरे पनि पौडेल पक्षले भने सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता गर्ने भएका हुन्।सिटौला पक्षले विरोध पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे पनि केन्द्रीय समितिमा पौडेल पक्षलाई साथ दिने सहमति बनेको छ।

यता निर्णय फिर्ता गर्न दबाब दिन पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिने बताइएको छ। अल्टिमेटमको समयावधिमा पूर्व निर्णय फिर्ता नभए अन्तक्रिया, धर्ना, अनसनलगायतका दबाब गर्ने पौडेल पक्षको तयारी छ।

प्रतिक्रिया दिनुहोस्