ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनका विषयमा यस्तो भयो सहमति

काठमाडौं, असोज ११ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओलीले त्यसअघि अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मन्त्रिमण्डल पुनर्गठनका विषयमा केन्द्रित रहेको भए पनि कुनै ठोस सहमति नभएको बताइएको छ।अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले आजको छलफलमा कुनै सहमति नभएको जानकारी दिए।

दुई अध्यक्षबीच सहमति नभएपछि मन्त्रिपरिषद पुनर्गठन आजै नहुने भएको छ। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै जानकारी नगराएको अध्यक्ष प्रचण्डले जानकारी दिएको सापकोटाले बताए।

यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मन्त्रिमण्डल पुनर्गठनका विषयमा लगातार छलफल भए पनि कुन मोडेलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन। सोही विषयमा आज थप छलफल भए पनि आज पनि सहमति नजुटेको हो।

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ।यता स्रोतले मन्त्रिपरिषद्‍मा अब ल्याउने सदस्य अधिकांश नयाँ अनुहार हुने बुझीएको छ ।

पूर्वएमाले घटकमा नयाँ अनुहारलाई प्राथमिकता दिए पनि पूर्वमाओवादीबाट भने दोहोरिने सम्भावना छ । पूर्वएमालेबाट यज्ञराज सुनुवार, विशाल भट्टराई, प्रेम आले, गणेश ठगुन्‍ना, विरोध खतिवडा आदिको नाम चर्चामा छ । पूर्वमाओवादीबाट देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल आदिको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्