बोक्सी र छुवाछूतजस्ता अपराधमा मिलापत्र नगराउन गृह मन्त्रालयको निर्देशन

 

काठमाडौं, असोज ८ । बोक्सी र छुवाछूतका घटनामा तत्काल कडा कारबाही गर्न र मिलापत्र नगराउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

केही समययता तराई लगायतका विभिन्न जिल्लामा बोक्सीको आरोपमा महिलामाथि अनर्गल दोष लगाउने, कुटपिट गर्ने, यातना दिने, मलमूत्र खुवाउनेसम्मका अमानवीय कार्य भइरहेको भन्दै कारबाहीलाई थप प्रभावकारी बनाउने मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो।

गत साता सप्तरीमा बलात्कारको घटना पञ्चायतले मिलाउन दबाब दिएपछि किबोरीले आत्महत्या गरेकी थिइन्।

बोक्सी, छुवाछूतको नाममा हुने कुनै पनि दण्डनीय अपराधमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

मातहतका निकायलाई तत्काल निर्देशन दिई त्यसको अनुगमन गर्न र कार्यप्रगति गृह मन्त्रालयमा पठाउन गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ।

समाजमा घट्न सक्ने यस्ता घटनाको पूर्व सूचना लिई घटना घट्नै नदिन र घटना घट्न गएमा तत्काल कानुन अनुसार कारबाही गर्न र फौजदारी कसुरका विषय मेलमिलाप नगराउन निर्देशनमा भनिएको छ। यस्ता विषयमा प्रहरी कार्यालयमा कुनै छलफल वा पञ्चायती नगराउन समेत निर्देशनमा भनिएको छ।

परम्पराको नाममा हुने अन्धविश्वास, रुढीवादी संस्कृतिकाविरुद्ध स्थानीय न्यायिक समिति, सम्बन्धित निकाय, सरोकारवाला संघ संस्थासँग समन्वय गरी सचेतनाका कार्यक्रम गर्न समेत भनिएको छ।

प्रतिक्रिया दिनुहोस्