भोलिबाट आन्तरिक उडान , मास्क अनिवार्य , भाडा नबढ्ने

काठमाडौं , असोज ४। ६ महिनाको लामो अन्तरालपछि भोलिबाट आन्तरिक उडान हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै भोलिबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।

उडान सुरु हुने सुचारु हुने भएपछि यति बेला व्यवसायीहरुले टिकट बुकिङ गरिरहेका छन् । सरकारले आइतबार सिट क्षमताअनुसारै हवाई सेवा नियमित गर्न अनुमति दिएको थियो ।यसअघि मन्‍त्रिपरिषद्‍ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो ।

तर, निजी वायुसेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका थिएनन् । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो ।

मन्त्रालयले देशभर रहेका सबै विमानस्थलमा उडान गर्न पनि अनुमति दिएको छ । तर, ९ दिनसम्म एउटा कम्पनीको २५ प्रतिशत मात्रै उडान स्वीकृत हुनेछ । वायुसेवा संस्थाले लकडाउनअगाडि ओगटेको बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत हुनेछ ।

भाडा नबढ्ने

हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो ।

तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले जानकारी दिए । सोहीअनुरुप भाडा नबढ्ने भएको हो ।
मास्क अनिवार्य

सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने छ । आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ । यस्तै विमानस्थलमा भिड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले उडान ढिलाइ हुने भए यात्रुहरुलाई एसएमएसमार्फत जति सक्दो छिटो सूचना विमान कम्पनीले दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्