असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदै , ५० प्रतिशत टिकट बुकिङ

काठमाडौँ, असोज ३ । कोरोनाका कारण ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान सोमबारदेखि पूर्ण क्षमतामा हुने भएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य सावधानी अपनाएर पूर्ण क्षमतामा उडानको अनुमति दिएलगत्तै धमाधम बुकिङ सुरू भएको छ ।

यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् ।

अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ । शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ ।

शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ ।

बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरुमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चीतवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिनेछ ।

सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान सङ्ख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गरे ।सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध थियो ।

प्रतिक्रिया दिनुहोस्