संविधान संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् ।

परिवर्तनको उपलब्धीलाई अगाडि बढाउन, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधान संशोधन हुन सक्ने उनले बताए ।सरकार प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रधानमन्त्री ओलीले बताए ।

संविधान कार्यान्वयनका लागि संरचना र कानुन बनाउन ३ वर्ष लागेको भन्दै ओलीले बल्ल सरकार संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा आइपुगेको धारणा राखे ।व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आ–आफ्नो ठाउँमा स्वतन्त्र र चेक एण्ड ब्यालेन्समा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानले यस विषयमा उन्नत प्रबन्ध गरेको जिकिर गरे ।

नेपालको संविधानले नागरिकको सुरक्षाको मर्मलाई पनि संबोधन गरेको प्रधानमन्त्री ओलीले बताए । नागरिकको सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको उल्लेख गरे ।साथै प्रधानमन्त्री ओलीले मानिसका लागि भोजन भन्दा सुरक्षा महत्वपूर्ण हुने जिकिर गरे

प्रतिक्रिया दिनुहोस्