संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने

काठमाडौं, असोज २ । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन्। कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो। महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो। यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ।

उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिएका छन्। बर्माले भने– ‘बिहीबारसम्ममा १७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

उनले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा ११९ जना रहेका छन्। उनीहरुसमेत १७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधन गर्दैछन्। न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन्। सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ।

पहिलेका वर्षहरुमा करिब १०० वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको बताइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औं महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएका छन् ।

न्युयोर्कमा आजदेखि शुरु भएको ७५औं महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभा अन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्