राष्ट्रियसभा सदस्यमा मनोनित भए वामदेव गौतम, ४ बजे शपथग्रहण

काठमाडौं, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो।

यसैबीच गौतमले सांसदको पद तथा गोपनीयताको शपथ आज अपराह्न ४ बजे लिने भएका छन्।

संसद् सचिवालयका अनुसार आज अपराह्न ४ बजे दिगो विकास समितिको सिंहदरबारस्थित हलमा शपथग्रहण कार्यक्रम राखिएको छ।

प्रतिक्रिया दिनुहोस्