भोलिदेखि चल्ने भए लामो दुरीमा सार्वजनिक सवारी , व्यवसायी र मजदुर पनि भए तयार
काठमाडौं, भदौ ३१ । लामो समय सम्म बन्द रहेका सार्वजनिक सवारी भोलिदेखि लामो दुरीमा चल्ने भएका छन् । सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेसँगै सवारी चल्ने भएका हुन् । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।
यता यातायात व्यवसायी र मजदुरहरु पनि भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।
व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ । यसअनुसार यातायात व्यवस्था विभागले बुधबार नै मापदण्ड फाइनल गरेर सार्वजनिक गर्ने मन्त्रालयका एक अधिकारीले बताए ।
बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दुरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरेका छन् । उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न तत्पर रहेको भन्दै भोलिबाटै लामो दुरीमा सेवा थाल्ने वातावरण तयार गरिने बताए ।
बैठकमा सहभागी व्यवसायी तथा मजदुरहरुले सरकारलाई धन्यवाद दिँदै मापदण्डसहित कार्यविधि आएपछि सेवा दिन सकिने बताएका थिए ।उनीहरुले यात्रु तथा चालक-सहचालकको स्वास्थ्य सुरक्षा महत्वपूर्ण हुने भएकाले त्यसका लागि आवश्यक सचेतनामा लागि सरकारले पनि काम गर्नुपर्ने बताए ।
व्यवसायी र मजदुरले मापदण्ड पालना भए नभएको अनुगमन गर्ने संयन्त्र पनि तयार राख्न सरकारलाई आग्रह गरेका छन् ।कोरोनाका कारण लामो समय देखि बस ठप्प छन् ।
आन्तरिक हवाई उडान बिहीबारबाट सञ्चालनमा ल्याउन अनुमति दिएको छ । कोरोना संकटका कारण बन्द भएको उडान १७७ दिनपछि सञ्चालनमा आउनेछन् भने दसैं नजिकिँदै गर्दा लामो दूरीका स्थल यातायात पनि सञ्चालनमा आउने भएका छन् । लामो दूरीका यातायात भने १७८ दिनपछि सञ्चालनमा आउन लागेका हुन् ।











प्रतिक्रिया दिनुहोस्