कर्मचारीले गरे कुलमानको औपचारिक बिदाइ , के फेरि स्वागत गर्न पाएला त ?
काठमाडौं , भदौ ३० । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकियो । यसपछि उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज र जनस्तरबाट पनि सरकारमाथि दबाव उठेपनि सरकारले निर्णय लिइसकेको छैन । घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शनसमेत भयो ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनस् नियुक्ति दिने चर्चा चले पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भने यस बारे कुनै कुरा नै उठेन ।
घिसिङलाई पुनः नियुक्ति गर्ने सबैको आशा थियो ।तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नै घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्तावमाथि कानुनी प्रश्न उठाए । र अन्नत त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखे ।
उनले घिसिङले धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए ।‘हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौ । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्’, उनले भने ।
बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।नेपाली जनताले फेरि घिसिङलाई प्राधिकरणको निर्देशकमा नियुक्ति भएको हेर्न चाहेका छन् ।
दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र विद्युत चुहावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजालमा सर्वसाधारण, कलाकार लगायतले प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति दिन माग गरिरहेका छन् ।
बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेका थिए । प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि यो विषय बैठकमा मुल एजेण्डाको रुपमा प्रवेश नै हुन पाएन ।कुलमानको पक्षमा ठूलो जनलहर छ ।सबैले सरकारले कुलमानलाई नै प्राधिकरणको निर्देशकमा नियुक्ति गर्न आग्रह गरिरहेका छन् ।
कुलमानको चार वर्ष अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउनुका साथै वार्षिक ८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको अवस्थामा पुर्याउन उनको महत्वपूर्ण भूमिका छ ।कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।











प्रतिक्रिया दिनुहोस्