सिन्धुपाल्चोक पहिरोः मृतक ९ जनाको सनाखत, अझै २२ बेपत्ता

काठमाडौं, भदौ २८। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए ।

उनका अनुसार पहिरोमा ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ट्याक्सी शेर्पा, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो।बाह्रबीसे ७ घुम्थाङमा पहिरो गएको हो। पहिरोले बस्ती नै पुर्दा ठूलो मानवीय क्षति हुनपुगेको हो।

पहिरामा पुरिएर २२ जना बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन्। पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ। सभामुख अग्नि सापकोटा पनि घटनास्थल पुगेका छन्।सभामुख अग्निप्रसाद सापकोटाले आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए । उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नुपर्नेरनपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने प्रतिबद्धता जनाए ।

“पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस्