सिन्धुपाल्चोक पहिरो अपडेट: २ महिलाको शव भेटियो, २२ जना बेपत्ता

काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता २ जनाको शव फेला परेको छ भने अझै २२ जना हराइरहेका छन्।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएको हो। त्यहाँ अझै १६ जना हराइरहेका छन्। पहिरोले ७ घर पुरेको छ।

यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा २ जनाको शव भेटिएको छ। डीएसपी सापकोटाका अनुसार स्थानीय २३ वर्षीया जुना विकको शव भेटिएको हो। अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्‍याएको हो।

यस्तै बाह्रबिसे वडा नम्बर ७ मै पर्ने केम्बे भन्ने स्थानमा पनि पहिरोमा परी ३ जना घाइते भएका छन्। उपचारका लागि उनीहरूलाई अपस्तालत लगिएको छ ।

यसैबीचसभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो ।

उनी ‍स्थलमार्गबाटै त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्