उपत्यकाका सीडीओ भन्छन्- कृत्रिम अभाव रोक्न ‘बजार अनुगमनलाई तीव्रता दिएका छौं’
काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसका कारण बजारमा कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई तीव्रता दिएको बताएका छन् ।
पछिल्लो समय कोभिड–१९ र बन्दाबन्दीका कारण जनताले कालाबजारी, कृत्रिम अभाव, असुरक्षालगायतका समस्याहरु भोग्नुपर्ने अवस्थालाई ध्यानकेन्द्रित गर्दै अनुगमनलाई व्यवस्थित गरिएको उनीहरुको भनाइ छ ।
काठमाडौंमा आयोजना गरेको ‘उपत्यकाको शान्ति सुरक्षा र बजार अनुगमनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दशैं, तिहार, छठ पर्वलगायतका चाडपर्व नजिकिँदै गर्दा अनुगमनका कार्यलाई व्यवस्थित गर्न लागिएको बताए ।
उनले लकडाउन र निषेधाज्ञाको समयमा म्याद नाघेको ४० ट्रक चकलेट, २० लाख थान माक्स नियन्त्रणका साथै थर्मल गनको कालो बजारी गर्नेलाई कारबाही गरिएको बताए । जनता संकटमा पर्दा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको हित संरक्षण र शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै सफलता हासिल गरेको पनि उनको दाबी छ । आफुहरुले सर्वसाधारणले अनुभूति हुने गरी अनुगमनका कार्यहरुलाई तीव्रता दिइएको उनले बताए ।
कार्यक्रमों बोल्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यतिबेला सामान्यभन्दा फरक अवस्था रहेकोले बजार अनुगमन चुनौतिपूर्ण रहेको बताए ।
पछिल्लो समय कोभिड १९ का कारण सिर्जित यस परिस्थितिमा आम सर्वसाधारणलाई अप्ठ्यारो पार्ने गरी अत्यावश्यक सामग्रीको कृत्रिम अभाव, कालाबजारी गर्ने, म्याद सकिएका सामग्रीहरुको विक्रिवितरण भइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि सबैसँग समन्वय गरी बजार अनुगमन गरिरहेको उनको भनाइ छ ।
यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ र बन्दाबन्दीका कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा बजार अनुगमनका कार्यलाई तीव्रता दिइएको बताइन् । भक्तपुर जिल्लामा ४ वटै स्थानीय निकायहरुसँग सहकार्य गरी प्रशासन कार्यालय भक्तपुरले सेनीटाइजर र माक्सको कालाबजारी गर्नेहरुवाई तत्काल कानूनी कारबाही गरिएको उनको भनाइ छ ।
जिल्लाभित्रका होटलहरुमा हुने अनैतिक कार्य, बालुवा तस्करीलगायतका अपराध नियन्त्रणमा जोडदिँदै आएको पनि उनले बताइन् । कोभिड १९ ले निम्त्याएको अप्ठ्यारो परिस्थितिमा उपभोक्ता ठगी गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउने र गुनासो आउँदा तत्काल सम्बोधन गर्ने गरेको उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्