कुलमानको कार्यकाल आइतबार सकिँदै, पुनर्नियुक्ति हुने सम्भावना कति ?
काठमाडौं, भदौ २६ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ ।घिसिङको कार्यकाल आइतबारसम्म बाँकी छ ।यसैबीच यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्याउने तयारी गरेको छ ।
भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको छ, सम्भवतः शुक्रबार साँझ प्रस्ताव टुङ्गो लाग्छ’, मन्त्रालय स्रोतले भन्यो ।
तर उहाँको अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ ।चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार हुनुभएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको स्रोतले जनाएको छ । ‘कुलमानलाई दोहोर्याउन दुई अध्यक्षबीच सहमति भइसकेको छ तर अवधि टुङ्गो नलाग्दा प्रस्ताव फाइनल भएको छैन’, मन्त्रालय स्रोतले भन्यो ।
तर विद्युत् प्राधिकरण ऐनमा कार्यकारी निर्देशकको कार्यकाल चार वर्षे हुने भनेर तोकिएकाले त्यसलाई मिलाउन भने समस्या देखिएको छ । प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार छन तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घिसिङलाई नै चार वर्ष काम गर्न दिनुपर्ने पक्षमा रहेका छन् ।
ऊर्जामन्त्री वर्षमान पुनले प्रचण्डको भनाइमा सहमत जनाएका छन् । उर्जामन्त्री पुनले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने अभिव्यक्ति यसअघिनै सार्वजनिक कार्यक्रममा दिँदै आएका छन् । आम जनता कुलमानको पक्षमा उभिएर सरकारलाई दबाब दिइरहेको भएपनि प्रधानमन्त्री ओली नै घिसिङको पुनर्नियुक्तिको पक्षमा नरहेको स्रोत बताउँछ ।
विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले यसैबीच देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।
उनकै नियुक्तिका लागि सरकारलाई दबाब दिन केही समय अघि उनकै नामको फेक अकाउन्टबाट सरकारले घिसिङलाई पुनर्नियुक्ति दिएको गलत सुचना प्रवाह भएको थियो । बधाइको ओइरो आउन थालेपछि आफ्नो नामबाट कसैले अकाउन्ट खोलेर बदमासी गरेको र सरकारले कुनै नियुक्ति नदिएको भन्दै स्पष्टीकरण समेत दिनुपरेको थियो ।















प्रतिक्रिया दिनुहोस्