महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारीमा कांग्रेस, नेता पौडेल भन्छन्- कुनैपनि हालत महाधिवेशन हुनै पर्छ

काठमाडौं , भदौ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ ।कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार १०७ औं वीपी जयन्तीको अवसरमा भएको ‘वीपी विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक भर्चुअल अन्तक्र्रियामा संगठन समायोजन र क्रियाशील सदस्यतासम्बन्धी कार्यतालिका प्रभावित भइसकेकाले केन्द्रीय महाधिवेशन समयमै हुन नसक्ने बताएका थिए ।

फागुनमा महाधिवेशन हुन नसक्ने निश्चित भएकाले केन्द्रीय समिति बैठक बोलाएर सारी कार्यकर्तामा रहेको अन्योल चिर्नुपर्ने सिटौलाको भनाइ थियो ।सभापति शेरबहादुर देउवाले महाधिवेशनका लागि तय गरिएको कार्यतालिका घर्किएपछि उपत्यका र विभिन्न स्थानमा भएको निषेधाज्ञाबीचमै भर्चुअल बैठक राखेर महाधिवेशनसम्बन्धी निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, नेता रामचन्द्र पौडेलले कोराना महामारीका कारण निषेधाज्ञा भएकै समयमा भर्चुअल बैठक राखेर महाधिवेशनसम्बन्धी छलफल गर्नु उपयुक्त नहुने भनेपछि रोकिएको थियो ।

बिहीबारबाट उपत्यकामा लकडाउन खुकुलो हुने संकेत पाएपछि सभापति देउवाले महाधिवेशनको कार्यतालिका र केन्द्रीय कार्यसमितिको म्याद थपबारे एजेण्डा राखेर केन्द्रीय कार्यसमिति बैठक असोज दोस्रो साताभित्र बोलाउने विषयमा नेता पौडेलसँग छलफल गरी मिति निर्धारण गर्न उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् । निधिले यस विषयमा नेता पौडेलसँग कुराकानी गरिसकेका छन् ।

संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउदले विधानमा भएका व्यवस्था अनुरुप महाधिवेशनका क्रियाकलाप अगाडि बढाउन सरकारले तोकेको स्वास्थ्य ‘प्रोटोकल’ अनुरुप नमिल्ने भएको सार्नुको विकल्प नभएको बताए ।

महाधिवेशन सार्ने र वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने एजेण्डामा छलफल गर्न सजोज दोस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भइरहेको बताए ।यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाएका छन् ।

नेता पौडेलले सभापति देउवाले अवैधानिक ढंगले पार्टी चलाउन थालेको भन्दै आपत्ति पनि जनाए ।समय रहँदासम्म कामै नगर्ने र समय घर्केपछि अनेकन बहाना गर्दै पार्टीलाई अवैधानिक बनाउने खेलमा सभापति लागेको उनको आरोप छ । आगामी फागुनमा कुनैपनि हालत महाधिवेशन गर्नुपर्ने उनको माग छ ।

यो ६ महिनाको बीचमा महाधिवेशन गर्न सम्भव रहेको भन्दै उहाँले काम नगर्ने तर म्याद मात्र थप्ने विषयले समाधान नदिने बताए ।नेता पौडेलले सभापति देउवामा काम गर्नेभन्दा भालेवादी र भाग्यवादी शैली हावी भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्