नेकपा स्थायी कमिटी बैठक आज बस्दै, बैठक विधिवत् रूपमा टुंग्याउने तयारी

काठमाडौँ , भदौ २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्षद्वय बीच भएको १५ बुँदे प्रस्ताव पेश हुनेछ । बैठकले विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल गर्नेछ ।

महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि पनि छलफल हुनेछ ।अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।

अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए ।यसैगरी मन्त्रिमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत बैठकमा सामान्य छलफल हुने बताइएको छ ।

यता प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्ने लगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।

यसैबीच नेकपाले असार १० देखि सुरु बैठक आजै विधिवत् रूपमा टुंग्याउने तयारी गरेको छ । कोरोना संक्रमणका कारण धेरै समय भेला हुन नहुने र अध्यक्षद्वयकै बीचमा विवाद मिलिसकेकाले बैठक सकेसम्म छोटो बनाउने तयारी नेकपाले गरेको हो ।

तर माधवकुमार नेपाल पक्षले भने दुई जना अध्यक्षबीच मात्रै भएका सहमति नमान्ने र पार्टीमा नेताहरुको मनपरी हटेर विधिसम्म निर्णय हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्