झापामा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २५ । झापाको ​कन्काई नगरपालिका(३ मा एकै परिवारका ११ लाई कोरोना संक्रमण पुष्टि भएको छ। एकै परिवारका ११ सदस्यमा कोरोना पुष्टि भएको घटना झापामै पहिलो हो। सो परिवारमा १४ वर्षका बालकदेखि देखि ८४ वर्षीय वृद्धासम्ममा कोरोना पुष्टि भएको नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीले जानकारी दिएका छन्‌।

उनीहरूको परिवारका एक जना सदस्य कर्मचारी रहेको र उनमा कोरोना पुष्टि भएपछि घरका सदस्यको पनि स्वाब परीक्षण गर्दा सबै सदस्यमा कोरोना देखिएको हो। एकै परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएपछि कन्काई नगरपालिकाले घरमै खाद्यान्न र आवश्यक सामाग्री उपलब्ध गराएको छ। परिवार नै संक्रमित भएकाले अन्य स्थानीयवासी पनि संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ। कन्काईमा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

अहिले नगरपालिकाले त्यस वडामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको छ। कोटीहोमस्थित पीसीआर ल्याब सञ्चालनमा आइसके पनि त्यहाँ जाँचिने स्वाब पुनः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुपर्ने भएकोले रिपोर्ट आउन ढिलाइ भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएकामा ५२१ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। अहिलेसम्म जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्