मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानको नियुक्ती अब भोलिमात्रै

काठमाडौं , भदौ २५ । आज बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो ।

मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहीबार बिहान आजको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्नेगरी स्थगित अर्को जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ । प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको स्रोतको दाबी छ ।

घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ । आज बैठक बसेको भए घिसिङको नियुक्ती आजै हुने थियो । तर, मन्त्रिपरिषद बैठक भोलिमात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि भोलि नै हुनेछ । साथै अन्य महत्त्वपूर्ण नियुक्ति र सरकारको प्रवक्ता समेत तोक्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।

गत शुक्रबार सूचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै सरकारको प्रवक्ता पद खाली छ ।

प्रतिक्रिया दिनुहोस्