असोज १ बाट सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा, सरकारले विकल्प नदिएको आरोप
काठमाडौँ, भदौ २४ । गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएपछि लामो दूरीका सवारी साधन पनि सञ्चालनमा आउने आशा गर्दा गर्दै सरकारले निर्णय नदिदा सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको करोडौँको लगानी जोखिममा परेको व्यवसायीहरूको गुनासो छ ।
कोरोनाले यति बेला सार्वजनिक यातायात सेवा बन्द छ । यसरी लामो समय सम्म बन्द हुँदा व्यवसायीे धरापमा परेका छन् । यता ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।यसबारे औपचारिक निर्णय बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए ।
६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन, अब थेग्ने अवस्था रहेन हामी बिहीबार यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ, असोज १ देखि हाम्रा गाडी सडकमा निस्कन्छन्,’ अधिकारीले भने ।
कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ ।
यसअतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताए ।कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट संचालित सिमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गर्दै आएको छ ।











प्रतिक्रिया दिनुहोस्