आज बिपीको १०७ औँ जन्मजयन्ती मनाइँदै, मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक

काठमाडौं , भदौ २४ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सुन्दरीजल बन्दीगृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त एका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनीस्वदेश फर्किएका थिए ।

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भएको उनले आफ्नो जीवनकालमा नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए ।
बिपी जयन्तीका अवसरमा काँग्रेस, भ्रातृ एवम् शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न आह्वान गरिएको छ ।

कांग्रेसले बिपी जन्मजयन्ती तीन दिनसम्म मनाउने

नेपाली कांग्रेसले बिपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् विभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बिपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको हो ।

भदौ २४ गते दिउँसो १ बजे ‘बिपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुनेछ । त्यसमा मुख्य वक्ताका रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागिता रहनेछ ।

भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा बिपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ । सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरि आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिए ।

बिपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्दछ । कांग्रेसले बिपी जयन्ती भौतिक दूरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।

यसै गरी मोरङ जिल्ला कार्यसमितिले बिपी जयन्ती ४ दिनसम्म मनाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्