बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार, घटना लुकाउन प्रहरीकै दबाब
काठमाडौं, भदौ २३ । कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएकी हुन् ।
जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् ।उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । किशोरीलाई भदौ १९ गते १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाए ।
तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ‘४ जना युवाले बलात्कार गरेको भन्दै ठाडो उजुरी परेको छ’ प्रहरी स्रोतले भन्यो ।५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बलात्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन् ।
प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ । ‘किशोरीले आफूलाई प्रहरीले दबाब दिएको भनेकी छन्’ प्रहरी स्रोतले भन्यो ‘आरोपित प्रहरीमाथि समेत कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’
बलात्कार गरेको आरोप लागेका ४ जना अहिले फरार छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्