विरोधका बीच थप विभाग गठनको तयारीमा देउवा , चरणवद्ध आन्दोलनको राणनीतिमा इतर समूह
काठमाडौं , भदौ २३ । सभापति शेरबहादुर देउवाले थप केन्द्रीय विभाग गठनको तयारी गरेका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच देउवा थप विभाग गठनको तयारीमा छन् ।
यसअघि गठन र विस्तार गरिएका विभागहरु खारेजको माग गर्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको राणनीति बनाइरहेका बेला सभापति देउवाले थप नौ विभागहरु गठनको तयारी गरेका हुन् ।
सभापति देउवाले गठन हुन बाँकी रहेका ३७ मध्ये नौवटा विभाग विस्तारको तयारी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उपसभापति विजयकुमार गच्छादारले सिफारिस गरेका नेताहरुलाई प्रमुख तोकेर तीनवटा विभाग र संस्थापनपक्षीय ६ जनालाई प्रमुख तोकेर विभागहरु गठन गरिने ती नेताको भनाइ छ ।
संस्थापनइतर पक्षको बहिष्कारबीच गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ वटा विभागलाई बढाएर ४७ बनाउने निर्णय गरेको थियो । जसमध्ये सभापति देउवाले २० विभाग यसअघि नै गठन गरेर विस्तारसमेत गरिसकेका छन् ।
सभापति देउवाका विश्वासपात्र मध्येका एक ती केन्द्रीय सदस्यले नयाँ विभाग गठनको मिति तय नभए पनि इतर समूहले गर्ने भनिएको आन्दोलनको पूर्वसन्ध्यामा गठन गर्ने तयारीमा आफूहरु रहेको पनि जानकारी दिए ।
सभापति देउवाले पछिल्लो समय गठन गरेका केन्द्रीय विभागलगायत क्रियाशील सदस्यता वितरणमा गरेको हस्तक्षेप फिर्ताका लागि दबाब दिन इतर समूह चरणवद्ध आन्दोलनमा जाने तयारी गरिरहेको छ ।
यता काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा बन्न पुगेको छ ।कोरोना महामारीले १४ औं महाधिवेशन अन्यौल बनेपछि नेपाली काँग्रेसमा यति बेला विकल्पबारे बहस सुरु भएको छ । फागुन ७ देखि १० का लागि निर्धारित महाधिवेशन नहुने करिब निश्चित भएपछि महाधिवेशनको मोडालिटी परिवर्तनमा बहस हुन थालेको हो ।
कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएको काँग्रेस नेताहरुको बुझाइ छ । किनकि पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ ।
प्रतिक्रिया दिनुहोस्