राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

काठमाडौं , भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यो सँगै ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् ।

पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् ।

विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका सञ्चार विज्ञको मुख्य भूमिकामा रहनेछन् । पाँचथरको आरूबोटेमा जन्मनुभएका ढकाल २०५० देखि २०५५ सालसम्म आरुबोटे माविमा स्थायी शिक्षक थिए । स्थायी जागिर छाडेर स्नातकोत्तर अध्ययनको लागि काठमाण्डौ आउनुभएका टीका ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उनले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नुभएको छ । ढकालले अहिले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै छन् । विज्ञ सल्लाहकार ढकालले सार्क विकास कोष, युरोपेली शान्ति संस्थालगायतका निकायमा काम गरिसकेका छन् ।

ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ ।

यसअघि ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए ।राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त ढकाल माओवादी शहीद परिवारका सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्