सरकराले तीन वर्षपछि फुकुवा गर्यो जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध

काठमाडौं, भदौ २२ । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि हटाएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।

मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।३ वर्ष अगाडि तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।कृषियोग्य जमिनमा प्लटिङ बढेर जग्गा खण्डिकरण बढेको भन्दै कित्ताकाटमा लगाइएको प्रतिबन्ध ३ वर्षपछि हटाइएको हो ।

यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ ।हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

सो निर्णय ‘विभागमार्फत् मातहत कार्यालयहरुमा निर्देशन दिने’ भनी मन्त्रिस्तरबाट भदौ १८ मा निर्णय भएको समेत शाखा अधिकृत लक्ष्मणबहादुर कठायतद्वारा जारी सो सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्