डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, भदौ २२ । डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्‌ भने तीन जनाको अवस्था गम्भीर छ। त्रिपुरासुन्दरी नगरपालिका-६ मा पर्ने रुखबाडामा आज बिहान लु १ ज ४२२९ नं को जीप दुर्घटना भएको हो। पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्गतर्फ जाने क्रममा साढे १० बजेतिर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जीपमा सवार सबै पाँच जना घाइते भएका छन्‌ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।

​घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ बस्ने वर्ष २४ का चालक रामबहादुर रोकाया, सोही स्थानका वर्ष २५ का सवारी धनी नरबहादुर रोकाया, वडा नं ६ बस्ने लोकचन्द्र विक, सोही ठेगानाका वर्ष २६ कि हिरा बिक र वर्ष २५ कि मीना पुन रहेका छन्‌। चालक रामबहादुर रोकाया, सवारी धनी नरलाल रोकाया र लोकचन्द्र विकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ।

अन्य दुई जनाको अवस्था मध्यम रहेको र घाइते हीरा विक गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भइरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायाले जानकारी दिएका छन्‌।

प्रतिक्रिया दिनुहोस्