‘दशैँसम्म निषेधाज्ञा लगाऔँ’ र उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरौँ,

काठमाडौं, भदौ २१ । उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन्।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।

अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरु आइरहेकाले त्यसमा कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए। ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छेलाई हामीले काठमाडौं भित्र्याउनै पर्छ। प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ। यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो काठमाडौंको’, उनले भने, ‘त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्न अलिक गाह्रो हुँदो रहेछ। अनावश्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ। सीमामा कडाई गर्न नेपाली सेना नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँच वटै नाकामा राखिदिउँन के फरक पर्छ र भनेर डिडिएमसीबाट निर्णय गरेर पठाइयो तर सिसिएमसीमा सुनुवाई नभएको हो की।’ दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याइ भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए।

सडकका जँड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गर्नुपर्ने जिम्मेवारीले प्रहरीलाई भ्याइ नभ्याइ भएकाले सिमानामा नेपाली सेना नै खटाउनुपर्ने उनले बताए। यता ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

उनले भने ‘अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् । दशैँजस्तो ठूलो चाड आउँदै छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले बेहोरिरहेका छौँ । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यान फाल्न पनि तयार हुँदो रहेछ । दशैँमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दशैँसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ । होइन भने मानिसहरु दशैँमा घर जाने भन्ने हुन्छ, जमानादेखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भए पनि आशीर्वाद लिनुपर्छ भन्ने खालको सेन्टिमेन्ट र इमोसनमा झन् भयाभह स्थिति हुन सक्छ । त्यसलाई पनि विचार गरेर यो दशैँसम्म अझै सहजीकरण गर्ने तर यसलाई त्यो बेलासम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।’

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्