नेकपा सचिवालय बैठक ३ बजेलाई सर्‍यो , राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

काठमाडौं , भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।आज बिहान ११ बजे बस्ने तय भएको सचिवालय बैठक ३ बजेलाई सारिएको छ ।११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बैठक बस्ने निश्चित भएको हो । बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनउपर सचिवालयको बैठकमा छलफल हुनेछ ।

त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा छलफल हुनेछ । अर्थमन्त्री खतिवडा सांसद बिहीन भएको २० गते ६ महिना पुग्दैछ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मननोयन गर्ने एक सिट रिक्त छ ।केही महिनादेखि चलिरहेको पार्टी आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एक साताअघि नै हुने भनिएको बैठक आज हुन लागेको हो ।

बैठकमा कार्यदलको सुझाब प्रतिवेदनमा छलफल हुने निर्धारित एजेण्डा रहे पनि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा। युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्याउने तयारी रहेको स्रोतको भनाइ छ ।

उक्त सिटमा खतिवडालाई कि वामदेव गौतमलाई पठाउने भन्नेबारे नेकपा टुंगोमा पुग्न सकेको छैन । उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा राखेपछि नेकपाको मथ्थर भएको विवाद फेरि बल्झिने संकेत देखिएको छ ।यता पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना राखेको कुरा बाहिर आएपछि उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरेका छन् । गौतमको दाबीले प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

ओलीले गौतमलाई मनाउन बुधबार राति नै बालुवाटारमा गोप्य भेटवार्तासमेत गरेका छन् । उक्त भेटमा उनले गौतमलाई प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा ल्याउने आश्वासन दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ ।प्रचण्ड पार्टीको निर्णय अनुसार गौतमलाई राष्ट्रियसभामा लैजानै पर्ने अडानमा छन् ।

गैरसांसदका रूपमा मन्त्री नियुक्त अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा। खतिवडाको ६ महिने अवधि यही भदौ २० गते पूरा हुँदैछ । उनी मन्त्री पदमा कायम रहन संघीय संसदको सदस्य हुनै पर्छ । राष्ट्रिय सभामा मनोनित हुने एक स्थान रिक्त छ ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पार्टी सचिवालय निर्णय निष्क्रिय भइसकेको बताएपछि नेकपामा विवाद बढेको छ ।

प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने सचिवालय बैठकको निर्णय कार्यान्वयन नगरी एक स्थान रिक्त राखेका छन् । कार्यान्वयन गर्नु पर्ने समयमा उनले अर्थमन्त्री डा। खतिवडालाई गैरसांसदका रूपमा मन्त्री पदमा शपथ गराएका थिए ।

प्रधानमन्त्री निक एक उच्च स्रोतका अनुसार अर्थमन्त्रीका रूपमा डा। खतिवडाले निरन्तरता पाउने गरी निर्णय हुनेछ । सचिवालयमा भने गौतमका पक्षमा मत बलियो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्