काठमाडौंमा फेरि निषेधाज्ञा ? यस्तो छ तयारी

काठमाडौं, भदौ १७ । पछिल्लो समय उपत्यकामा लगातार कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ(आज) मध्यरातिबाट सकिँदैछ । निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा पनि कुराकानी भएको छ ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । यसैबीच उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको छ ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए । श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

कोरोना सक्रमणका दर निरन्तर संक्रमित बढिरहेकाले कम्तिमा एक हप्ता निषेधाज्ञा थपिने सम्भावना छ । तर केही क्षेत्र भने खुकुलो बनाउने तयारी छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै होम डेलिभरी, टेकअवे सेवा खुला, निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई सहजीकरण गर्ने हालसम्म मोडालिटी बनेको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको थियो । त्यो निश्कर्षसहित तीनै जिल्लाका प्रजिअहरूले अनुमोदनका लागि गृह मन्‍त्रालयमा जानकारी दिएका छन् ।

निषेधाज्ञाबारेमा आजै निर्णय हुनेछ । गृह मन्त्रालयको निर्देशनपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाबारे सूचना जारी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्