किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग, सापटीको मल ल्याउन बाटो खुल्यो

काठमाडौं, भदौ १७ । नेपालमा बाली नालीमा मल हाल्ने बेलैमा अभाव हुँदा सरकारको आलोचना भइरहेको छ। आलोचना भइरहेका बेला यता प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्ध र युरिया मल आपूर्तिका विषयमा मंगलबार टेलिफोन संवाद भएको हो ।

देशभर रासायनिक मल हाहाकार भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले तत्काल मल आपूर्तिका लागि बंगलादेशकी प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् । यसैबीच किसानले लामो समयसम्म लाइन बसेर पर्खिंदा पनि नेपाल सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै फोर एच नेपालले एक वक्तव्य जारी गर्दै सरकारको ध्यानाकर्षण गरेको छ । सरकारलाई तत्काल किसानको मलको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएकोछ, झापा, मोरङ, सप्तरी, धनुषा, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा हप्तौंदिनदेखि किसानहरु मलको लागि लाइनमा बस्दा पनि मल नपाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्‍ने कुरा प्रस्ट हुन्छ । किसानहरुले मलको माग गर्दा पनि बेलैमा सुनुवाइ नभएकाले किसान मार्कामा परेको जारी वक्तव्यमा भनिएको छ ।

गएको यही असारमा पनि धान रोपाइँ गर्दाको बेला पनि किसानले आवश्यक प्रयाप्त मात्रमा मल पाउन सकेका थिएनन् । अहिले पनि सरकारसँग प्रयाप्त समय हुँदाहुँदै पनि कमजोर व्यवस्थापनका कारण धानबालीमा टप ट्रसिङ गर्ने बेलामा पनि रासायनिक मल अभाव देखिनुले सरकारको व्यवस्थापिकीय कमजोरी भएको उक्त वक्तव्यमा जनाइएको छ ।

मलका लागि लाइनमा बस्दा सामाजिक तथा भौतिक दूरी कायम गर्न कठिन भइरहेको, स्वास्थ्य सुरक्षा सामाग्री किसानको पहुँच नभएकाले कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेकाले तत्काल सबै किसानको कोरोना बिमा गर्न र स्थानीय तहमै रसायनिक मल उपलब्ध गराउनु फोर एच नेपालले माग गरेको छ ।

मल अभावका कारण किसानलाई हुने घाटा पूर्ति गर्न अग्रिम तोकिएको मूल्यको आधारमा किसानलाई स्थानीय तहमै क्षतिपूर्ति तथा मूल्य रकम उपलब्ध गराउन बेलैमा कानुनी तथा आर्थिक व्यवस्थापन गरी स्थानीय तहसँग समन्वयको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बजारमा भएको उपलब्ध रासायिनक मलमा कालोबजारी भइरहेको, किसानलाई मलको बजार मूल्यभन्दा निकै महंगो किन्‍न बाध्य बनाइएको तथा मल वितरणमा समेत विभेद गरिएकोले यस्ता कार्य तत्कालै रोक्न वक्तव्यमा उल्लेख छ ।

किसानलाई तत्काल सस्तो मूल्यमा आवश्यकताको आधारमा सबैलाई वितरण र सुलभतासाथ उपलब्ध गराउन तथा हरेक वर्ष देखिने मल अभावको समस्यालाई दीर्घकालीन रुपमा समाधानका लागि ठोस कदम चाल्न फोर एच नेपालले वक्तव्यमार्फत नेपाल सरकारसँग अनुरोध गरेको छ ।

यसैबीच सरकारले बंगलादेशबाट रासायनिक मलको आपूर्ति बढाउन ५० हजार मेट्रिक टन युरिया सापटीमा ल्याउने भएको छ । मंगलबार नेपाल र बंगलादेशका प्रधानमन्त्री स्तरीय वार्तामा यस विषयमा अन्तिम टुंगो लगाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै बंगलादेशकी समकक्षी प्रधानमन्त्री शेख हसिनासँग बंगलादेश–नेपाल सम्बन्धबारे छलफल उपलब्धिपूर्ण रहेको जानकारी गराएका छन् । “यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न मैले गरेको अनुरोधलाई उनले सकारात्मक रूपमा लिनुभएको छ ।” दुई देशका प्रमुखबीच टेलिफोन वार्ता भएको थियो ।

कृषि विकासमन्त्री घनश्याम भुसालले यो सिजनका लागि ठेक्का पाएका ठेकेदारले ढिला गर्ने देखिएपछि गत साउनमा नै बंगलादेशसँग सापटीका रूपमा युरिया ल्याउने प्रक्रिया अगाडि बढाएका थिए । मन्त्रालयले बंगलादेशको मल आपूर्ति गर्ने निकायदेखि आपूर्तिकर्तासम्मसँग समन्वय गरिसकेको जनाएको छ । प्रधानमन्त्री स्तरीय छलफलपश्चात् औपचारिक रूपमा मल भित्र्याउने पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्