युरिया मलको संकट टार्न सरकारको पहल, भयो बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउने सहमति

काठमाडौं, भदौ १७ ।प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्ध र युरिया मल आपूर्तिका विषयमा मंगलबार टेलिफोन संवाद भएको हो ।

देशभर रासायनिक मल हाहाकार भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले तत्काल मल आपूर्तिका लागि बंगलादेशकी प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् । मल ल्याउने ठेक्का पाएका ठेकेदारले मल आपूर्ति नगरेपछि सरकार आफैँले पहल गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीबाट ५० हजार मेट्रिक टन मल ल्याउन टेन्डर आह्वान गरेको थियो । शैलुङसँग १२ वैशाखमा र होनिकोसँग १५ वैशाखमा ठेक्का सम्झौता भएको थियो ।

मल ल्याउने ठेक्का पाएका ठेकेदारले मल आपूर्ति नगरेपछि सरकार आफैँले पहल गरेको हो ।

सम्झौता भएपछि एलसी ९प्रतीतपत्र० खोलेको मितिदेखि लागू हुने गरी उनीहरूलाई ११७ दिनको समय दिइएको थियो । तर अझै पनि मल ल्याउन सक्ने अवस्था नदेखिएपछि सरकारले पहलकदमी थालेको हो ।

यी दुई कम्पनीले चीन र मध्यपूर्वका देशबाट युरिया ल्याउने भनेका थिए । सबैभन्दा कम कबोल गरेपछि होनिकोसँग प्रतिटन ३०९। ९ अमेरिकी डलर र शैलुङसँग प्रतिटन ३२०।२५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । दुवै ठेकेदार कम्पानीको समय यही २० भदौसम्म छ । यस अवधिमा मल ल्याउन सक्ने अवस्था नभएपछि प्रधानमन्त्री आफँैले मलको हाहाकार टार्न बंगलादेशका प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् ।

दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार, ऊर्जालगायतका विषयमा सहकार्य गर्ने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुई प्रधानमन्त्रीले साझा चासोका विभिन्न विषयमा विचार विमर्श गरेका छन् । जसमा विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बंगलादेशलाई बिजुली आपूर्ति, दुई देशहरूबीचको अवरोधरहित र सन्तुलित व्यापारको प्रवद्र्धनलगायत छन् ।

बंगलादेश हुँदै नेपालको यातायात सुविधामा सुधार, बढाइएको कनेक्टिभिटी, पर्यटनको प्रवर्धनको विषयमा पनि छलफल भएको जनाइएको छ । यता नेपालमा बाली नालीमा मल हाल्ने बेलैमा अभाव हुँदा सरकारको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्