झन्झन् बढ्दै संक्रमितको संख्या , जनप्रतिनिधिले गरे उपत्यकामा कर्फ्यु लगाउन माग

काठमाडौं, भदौ १६ ।निशेधाज्ञा जारी भइरहदे पनि राजधानिमा संक्रमितको संख्या झन्झन् बढ्दै गएको छ। सोमबार मात्रै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई समेत संक्रमण देखिएको छ।

पछिल्लो पटक थपिएको एक साता लामो निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदैछ। यसैबीच काठमाडौँ उपत्यकाका जनप्रतिनिधिले उपत्यकामा कर्फ्यु लगाउन माग गरेका छन्।

निषेधाज्ञाले चहलपहल नरोकिएको भन्दै कर्फ्यु नै लगाउनु पर्ने माग आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने विषयमा अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बसिरहेको छ। बैठकपछि गृह मन्त्रालयसँग समन्वय गरेर बुधबार यस विषयमा निर्णय गर्ने प्रजिअ दाहालले बताए।
उनले यस विषयमा जनप्रतिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुको सुझाव लिइसकेको र उनीहरुबाट फरक फरक सुझाव आएको बताए। यी विषयमा छलफल गरेर तीन वटै जिल्लाले साझा धारणा तयार गरेर गृह मन्त्रालयमा जाने प्रमुख जिल्ला अधिकारीको तयारी छ।

यसअघिका समस्या र अनुभव गृहमा सुनाउने र परामर्श लिएर थप निर्णय लिने पनि प्रजिअ दाहालले बताए। उद्योगी व्यवसायीले भने निषेधाज्ञा समाधानको विकल्प नभएको भन्दै सतर्क रहेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्।

मध्यपुर ठिमीका मेयर तथा मेयर फोरमका संयोजक मदन सुन्दर श्रेष्ठले उपत्यकाका जनप्रतिनिधिले कफ्र्यु लगाउन माग गरेको बताए। ‘निषेधाज्ञा थपेर मात्रै हुने देखिएन, सामान जोहो गर्न लगाएर कर्फ्यु लगाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘हामीले यही सुझाब दिएका छौं, मान्छेहरुले बढी नै अटेर गरेका छन्।’

संक्रमण बढ्दै गए पनि सर्वसाधारण बाहिर हिँड्डुल गर्न नछाडेकाले जोखिम कम गर्न कर्फ्युको विकल्प नदेखिएको उनको बुझाइ छ। ‘गृह मन्त्रालयलाई जिम्मा दिएर भए पनि थप कडाइ गर्न भनेका छौं। त्यो भनेको कफ्र्यु नै हो’, उनले भने।

कानुनी रुपमा जसरी सहज हुन्छ त्यसैगरी गर्ने र यस विषयमा गृहसँग र अरु जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएको श्रेष्ठले जानकारी दिए।

व्यवसायीले सानो घेराको स्वार्थ राखेर निषेधाज्ञा खुलाउन माग गरेको उनको आरोप छ। स्थिति भयावह देखिएकाले थप कडाइ गर्न उनीहरुले माग गरेका छन्।यता कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा थप कडाइ गर्ने तयारी स्थानीय प्रशासनको छ ।

जोखिम निरन्तर बढिरहेकाले उपत्यकामा जारी रहेको निषेधाज्ञा हटाउने वा कायम गर्ने भन्नेबारे भने टुङ्गो लागेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय भोलि मध्यराति सकिँदैछ ।

यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक उपत्यकामा निषेधाज्ञा थपिएको थियो । उपत्यकाको कोरोना संक्रमणको अवस्थालगातयका अन्य सुरक्षा चुनौतीबारे भने आजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच अनौपचारिक ‘भर्चुअल मिटिङ’ गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्