उपत्यकाका तीन सिडिओको बैठक बस्दै, होला त निषेधाज्ञा खुकुलो ?

काठमाडौँ , भदौ १६ । कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो ।

जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने/नबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन् ।

निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।

दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए ।‘यस पटको निषेधाज्ञा केही लचिलो हुन्छ । निषेध गरिएका केही क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे छलफल हुनेछ,’ ती प्रजिअले भने ।

मंगलबार बसेको तीन जिल्लाका प्रजिअको राय बुधबार मात्रै गृह मन्त्रालयमा पठाइनेछ । यसैबीच १२० दिन लामो बन्दाबन्दी (लकडाउन) झेलेको औद्योगिक क्षेत्रले उद्योगधन्दा सञ्चालनको तरखर नगर्दै निषेधाज्ञाको मार झेल्नु परेको छ ।

कोरोना संक्रमण बढी देखिएका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मुलुकको उद्योगधन्दा नराम्ररी प्रभावित भएको छ । उद्योगधन्दामै आश्रित मजदूर र तिनका परिवारमात्र होइन, तिनै उद्योगका उत्पादनमा निर्भर समाज पनि यो समस्यामा जेलिएको छ ।

वस्तुको उत्पादनदेखि डिमाण्ड र सप्लाईको चेनसमेत निषेधाज्ञाका कारण प्रभावित भएको छ । निषेधाज्ञाको प्रभावले गर्दा यतिखेर मुलुकभर झण्डै ८०/८५ प्रतिशत उद्योग, कलकारखाना बन्द हुन पुगेको उद्योगी–व्यवसायी बताउँछन् ।

काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। यता काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ ।

काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्