मकवानपुरमा निषेधाज्ञा हट्यो
काठमाडौं, १५ भदौ । कोरानो संक्रमित (कोभिड १९) बढ्दै गएपछि साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि खुला हुने भएको छ ।
शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द हुने भएको छ । यीबाहेक अन्य व्यवसाय विहान ५ देखि १० बजेसम्म खुला हुने हुने मकवानपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तर ‘संक्रमणको जोखिम र दरमा कुनै कमी आएको छैन । तर पनि व्यवसाय धरापमा परेको भन्दै बिहान १० बजेसम्म सबै व्यवसाय खोल्ने र दिनभर बन्द गर्ने तयारी गरिएको छ ।
अब मकवानपुरमा उद्योगहरु पनि सञ्चालन गर्न पाइनेछ । उद्योग सञ्चालन गर्दा सम्भव भएसम्म उद्योग परिसरभित्रै कर्मचारी तथा श्रमिक राख्ने व्यवस्था मिलाउने र उद्योग परिसरभित्र राख्न सम्भव नभए विहान ६ बजेभित्र उद्योग परिसर प्रवेश गर्नुपर्ने र साँझ ६ बजेपछि बाहिर निस्कन पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उद्योगका कामदार र कर्मचारी घर फर्केपछि समुदायमा घुलमिल नहुने र बाहिरी जिल्लाबाट कामदार ल्याउन नपाइने निर्णय पनि बैठकले गरेको छ ।
हेटौंडा बजार क्षेत्रभित्र हुने लोड अनलोडको काम साँझ ७ देखि विहान ५ बजेसम्म गर्ने, कृषि र पशुपन्छी व्यवसायको उत्पादनदेखि बिक्री वितरणसम्मका सबै श्रृङ्खला खुला गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोरोना संक्रमण फैलिएपछि हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्र, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा हटाए पनि अत्यावश्यकबाहेकका यातायात बन्द हुने छ ।











प्रतिक्रिया दिनुहोस्