निषेधाज्ञाको आज ११ दिनः उपत्यकाको जनजीवन प्रभावित, सुनसान सडक अनि गल्लीहरू
काठमाडौं, भदौ १४ । निषेधाज्ञा जारी भएपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ । तरपनि मानिसहरुले निषेधाज्ञाको पालना पूर्णरुपमा गरेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आज ११ दिन पुगेको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात देखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका थिए ।
आज (आइतबार) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा निषेधाज्ञाको पालना भएको पाइएको छ । उपत्यकाका मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिएको छ । यस्तै फुटपाथमा पनि मानिसहरुको आवागमन न्यून देखिन्छ । प्रहरीले सवारी साधनको चोकजाँचलाई कडाई पारेको छ । निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई कारबाही स्वरुप दिनभर होल्ड गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो ।
सडकमा अत्यावस्यक सेवा क्षेत्रका एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल ढुवानी लगायतका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन् । तर विभिन्न अनलाइन व्यापारका लागि ढुवानी गर्ने सवारी साधनलाई भने प्रहरीले कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडक क्षेत्र पनि सुनसान रहेका छन् । अत्यावश्यक वस्तु, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेको देखिन्छ भने दिउसोको समयमा पूर्णरुपमा बन्द रहेका छन् । मानिसहरु विहानको समयमा आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । औषधि पसलरु भने दिउसकोको समयमा पनि खुलेको देखिन्छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् । यसैबीच नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ ।
कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।यता काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ ।
काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउँछन् ।
बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ । काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ ।















प्रतिक्रिया दिनुहोस्