कोरोनाले भारतको बेहाल : साढे ६२ हजारको मृत्यु, स्थिति लगातार चिन्ताजनक बन्दै
काठमाडौं , भदौ १३ । भारतमा शनिबार थप ७६ हजार ४७२ जना कोरोनासंक्रमित थपिएका छन् । शुक्रबार कीर्तिमानी ७७ हजार मामिलाभन्दा यो थोरै कम हो । पछिल्लो केही दिनयता भारतमा लगातार ७० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् र स्थिति लगातार चिन्ताजनक बन्दै गइरहेको छ ।
भारतमा ३४ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् । कुल संक्रमितको मामिलामा भारत विश्वमा अमेरिका र ब्राजिलभन्दा पछि मात्र रहेको छ । पछिल्लो दुई हप्ताको दौरान भारतमा एक दिनमा फेला संक्रमितको संख्याले लगातार कीर्तिमान बनाइरहेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १ हजार २१ जनाले ज्यान गुमाएका छन् । योसँगै महामारीमा ज्यान गुमाउनेको संख्या ६२ हजार ५५० पुगेको छ ।
यता, सेप्टेम्बर १ देखि भारतमा प्रतिबन्धहरुमा केही छुट दिने तयार भइरहेको छ । केही दिनअघि मात्र मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानीको जीवन पुनः सुचारु गर्न मेट्रो सेवा शुरु हुन जरुरी रहेको बताएका थिए । यद्यपि, यसबारे अझै केही फैसला भइसकेको छैन ।
भारतमा यतिबेला मेडिकल र इन्जिनियरिङको परीक्षा स्थगन गर्न हजारौँ विद्यार्थी सडकमा छन् ।
प्रतिक्रिया दिनुहोस्