सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने

काठमाडौं, भदौ १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ ।स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला शुक्रबार सो निर्णय गरेका हुन् । यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ ।

सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबारै रु ६४ करोड निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो ।

मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी शुक्रबार मन्त्री ढकालले नीतिगत निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्