कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको हो , सरकारले छैन: प्रवक्ता खतिवडा

काठमाडौं, भदौ ११ । सरकारका प्रवक्ता डा।युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’

’मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनलाई फेरि अर्को कार्यकालका लागि पनि सरकारले नियुक्ति दिएको भन्ने समाचार भाइरल पारिएको थियो ।यसैलाई आधार बनाएर कतिपय राष्ट्रिय सञ्चारमाध्यमले समेत उनको पुनर्बहाली भएको समाचार बनाएका थिए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विषयमा सामाजिक सञ्जालमार्फत गलत कुरा सूचना प्रवाह भएको बताएका थिए । उनले आफ्नो नाममा ‘फेक अकाउन्ट’ खोलेर सामाजिक सञ्जालमा गलत सूचना दिइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्