नियमित उडान खुल्नेबित्तिकै हवाइ भाडा घट्ने, आठ आन्तरिक गन्तव्यमा सेवा खुला गर्ने तयारी
काठमाडौं, भदौ ११ , नियमित उडान खुल्नेबित्तिकै हवाइ भाडा घट्ने भएको छ । भदौ १७ देखि नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर हुने भएको हो । एकतर्फी मात्रै यात्रु हुने भएकाले चार्टर्ड उडानको तुलनामा धेरै नघटे पनि केही हेरफेर हुनसक्ने कम्पनीहरुले जनाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।
‘एयरलाइन्सबीच प्रतिस्पर्धा भए पनि धेरै घट्ने सम्भावना नरहेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। अहिले पनि एयरलाइन्सले धेरै भाडा नलिएको भन्दै आफ्नो खर्चअनुसार भाडा तय हुने उनले बताइन्। दुईतर्फी यात्रु आवागमन हुनथाले स्वतः भाडा घट्दै जाने खड्काको भनाइ छ।
सरकारले उद्धार उडानको लागि गन्तव्यअनुसार अधिकतम भाडादर तोकेको छ। नियमित उडानमा भने एयरलाइन्सको प्रतिस्पर्धाले केही भाडादर घट्ने भएको हो।सरकारले नियमित उडान नखोली विदेशमा अप्ठ्यारोमा परेका कामदारसँग चर्को भाडा असुल्न दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।
सोहीअनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका रुपमा भए पनि केही निश्चित स्थानमा हवाई सेवा सञ्चालन गर्न दिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको वा नगरेको भन्ने विषयमा औपचारिक जानकारी भने गराइएको छैन ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरुमा हिमाली तथा पहाडी क्षेत्रमा आन्तरिक विमान सञ्चालन गर्न सकिने विषयमा छलफल भएको बताए । सरकारले निर्णय गरेमा नागरिक उड्डयन प्राधिकरण र निजी क्षेत्र पनि सञ्चालनको तयारी अवस्थामा रहेको उनले बताए ।
“नमुनाका रुपमा भए पनि पहाडी र हिमाली क्षेत्रमा सञ्चालनका लागि छलफल भएको हो । मन्त्रिपरिषद्ले निर्णय गरे हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौं । निजी वायुसेवा सञ्चालक पनि तयारी अवस्थामा छन्,” उनले भने ।
यता, निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल जसरी भए पनि आन्तरिक हवाई सेवा सञ्चालन गरिनुपर्ने बताउँछन् । मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो ।
तराईका क्षेत्रमा भने तत्काल हवाई सेवा सुरु गर्न नहुने निष्कर्षमा मन्त्रालय रहेको बताइएको छ ।आन्तरिक उडानका लागि पनि नागरिक उड्डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ ।











प्रतिक्रिया दिनुहोस्